काठमाडौँ, २५ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आफुहरुका माग संबोधन नभए सरकारलाई दिएको समर्थन एक सातामा स्वत समाप्त हुने चेतावनी सहित पाँचबुँदे ज्ञापनपत्र प्रधानमन्त्री समक्ष बुझाएको छ ।
सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच बालुवाटारमाबसेको बैठकमा सहभागी मोर्चा आबद्ध सात दलका नेताहरुले स्थानिय तह निर्वाचन स्थगित लगायतका बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललार्ई बुझाएको ज्ञापनपत्रमा स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता गरिनुपर्ने, संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने तथा सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरिएको छ ।
बैठकपछि बोल्दै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सप्तरीमा अस्ति भएको घटनामा मारिएकालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने र घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने मागसमेत राखिएको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले मोर्चाका मागहरुका बिषयमा सत्ता गठनबन्धन र अन्य दलसँग छलफल गरेर सम्बोधनको पहल गर्ने विश्वास दिलाउनुभएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिनुभयो ।
सप्तरी घटनापछि सिर्जित परिस्थितिको समीक्षा गर्न प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाउनु भएको थियो ।
भिडियो हेर्नुस्।