काठमाडौ २० फागुन ।
राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दैछ । बैठक बिहान साढे ९ बजेपछि पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बोलाइएको छ ।
हिजोदेखि सुरु भएको बैठकमा आगामी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनको तयारी तथा चुनाव चिन्हका विषयमा छलफल केन्द्रित रहेको पार्टी पार्टी नेता दिलनाथ गिरीले जानकारी दिनुभयो ।
यसअघि हिजोको बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यले गाईलाई चुनाव चिन्ह बनाउनुपर्ने धारणा राखेका थिए । सनातन हिन्दु राष्ट्रको सिद्धान्त बोकेको पार्टीले गाईलाई चुनाव चिन्ह बनाएर निर्वाचनको तयारीमा लाग्न नेतृत्वलाई सुझाव दिएका छन् ।
दुई राप्रपाको एकतापछि भएको महाधिवेशनमा चुनाव चिन्हका विषयमा सहमति नजुटेपछि राप्रपाले निर्वाचन आयोगमा हालसम्म चुनाव चिन्ह दर्ता गराएको छैन । यस्तै नयाँ संविधान अनुसार पार्टीको स्थानीय संरचनामा संगठन विस्तार गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको नेताहरुल बताएका छन् ।
बैठकमा पार्टी नेता ध्रुवबहादुर प्रधानले प्रस्तुत गर्नुभएको ‘स्थानीय निकाय निर्वाचन तयारी’ विषयक कार्यपत्रमा नेताहरुले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।