काठमाडौ २० फागुन ।
राजधानीमा जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आजपनि विभिन्न कार्यपत्रमाथि छलफल हुदैछ । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा हिजोदेखि सुरु भएको सम्मेलनमा लगानी सम्भावना रहेका र विकासको मेरुदण्ड मानिएका प्रमुख ९ वटा क्षेत्रमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भइरहेको छ ।
सममेलनमा २३ मुलुकका २ सय ५० भन्दा बढी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताका साथै स्वदेशी लगानीकर्ता पनि सहभागी भएका छन् । हिजोको सम्मेलनमा एक खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आइसकेको उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिनुभयो ।
सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका प्रशासनिक एवम् कानुनी सुधारका प्रयासका बारेमा समेत छलफल हुने बताइएको छ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले आयोजित दुई दिने सम्मेलन आजै सकिदैछ ।