काठमाडौ ,१९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पेश भएको संविधान संशोधन विधेयक यथास्थितिमा पारित हुने अवस्था नरहेको बताउनु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीसँग आज बिहान बालुवाटारमा भएको भेटमा उहाँले संविधान संशोधन प्रस्तावको विपक्षमा बहुमतको अवस्था रहेको बताउनु भयो ।
उहाँले राप्रपा लगायतका दलले पनि संशोधनको विपक्षमा मतदान गर्ने जनाएपछि संसदबाट संशोधन विधेयक पारित हुने सम्भावना न्युन रहेको बताउनु भयो । यस्तो हुदा मुलुक झन अन्योलता तर्फ अघि बढ्ने र प्राप्त उपलब्धी संस्थागत गर्न नसकिने प्रधानमन्त्री दाहालको भनाई छ ।
अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउँदै उहाँले अहिलेको संविधान खारेज भएमा २०४७ को संविधान आउने खतरा रहन्ने धारणा राख्नुभयो ।
सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै प्रधानमन्त्री दाहालले आदिवासी जनजाति प्रतिष्ठान खारेज नहुने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
महासंघले आदिवासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्न, आदिबासी अधिकारसहित संविधान संशोधन गर्न, स्थानीय तहको सीमा निर्धारण गर्दा पहिचान जडित क्षेत्रलाई खण्डित नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।