काठमान्डौ फागुन १९ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीको नेतृत्वमा देश आए दश वर्षमा उथलपुथलकारी परिवर्तन गरेर देखाउने बताउनु भएको छ ।
पार्टीको आठौं महाधिवेशनले पारीत गरेको नीति तथा निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले अहिलेको संसदीय व्यवस्थाले देशलाई द्धन्द र अस्थिरतामा कायम राख्ने भन्दै वैज्ञानिक समाजवादको विकल्प नभएको बताउनु भयो ।
समाजवादमा निजी सम्पत्ति र राजनीतिक अधिकार सुनिश्चित राख्ने व्यवस्थाका सन्दर्भमा पार्टीले समिक्षा गरेर नयाँ विचार अघि सारेको भन्दै सबै देशभक्त, वामपन्थी, सही लोकतन्त्रवादीहरु एक भएर दलाल पूजीवाद विरुद्ध लड्नु पर्ने बताउनु भयो ।
स्थानीय निकायको निर्वाचनको प्रसंगमा केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव विरोधी र विखण्डनकारीलाई तह लगाउने भन्ने जस्ता अभिव्यक्ति निरकुश र फासीवादी प्रवृतिको भएको भन्दै जनतालाई दमन गर्न खोज्नेलाई ईतिहासले समाप्त पार्ने चेतावनी दिनु भयो ।
पार्टीले ईमान्दार कार्यकर्तालाई पुरस्कृत गर्ने, रिटायर्ड नेताहरुलाई भरणपोषण गर्ने जस्ता कुरामा नयाँ तरीकाले सोचेर व्यवस्था गर्न शुरु गरेको भन्दै यो संस्कृति अहिले आवस्यक रहेको बताउनु भयो ।
महाधिवेशनको निर्णयबारे तयार पारीएको वक्तव्य नेता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले बाचन गर्नु भएको थियो । सो विज्ञप्तिमा जनतामाथि लाद्न खोजिएको स्थानीय निकायको निर्वाचन ध्वस्त पार्ने चेतावनी दिईएको छ ।
महाधिवेशनले राष्ट्रियता र जनजिबीकाका विविध सवालमा महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ । जस अन्तर्गत बढ्दै गएको भ्रष्टाचार, कोलोबजारी, तस्करलाई सख्त कारबाही गर्न प्रस्ताव पारित गरिएको छ ।
यस्तै जनबादी शक्तिहरु ध्रुबिकृत र एकीकृत हुनकालागि गरिएको प्रस्ताव पारित गरेको छ । त्यस्तै पेरुका गोन्जालो सहित क्रान्तिका लागि बिभिन्न मुलुकमा संघर्षरत माओवादी कार्यकर्ताहरुको रिहाईको आवाज बुलन्द पार्न प्रस्ताव पारित गरिएको छ ।
कम्युनिष्ट पार्टीको आठौं महाधिवेशन गत फागुन १ गते जनयुद्ध दिवसको अवसरमाा काठमाडौंको ख्ुल्लामञ्चमा उदघाटन भएको थियो भने गत फागुन ५ देखि १० गतेसम्म रोल्पाको थबाङमा बन्दसत्र भएको थियो ।