भक्तपुर, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा भत्तपुरको सानोठिमि क्याम्पसमा दुई सय बिद्यार्थी भर्ना गरिएको खुलेको छ ।
निर्वाचनको सङ्घारमा सोमबार राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी गरेपछि सोमबार दिनभर क्याम्पस तनावग्रस्त बनेको थियो । तर मध्यरातमा निर्वाचन आचारसंहिता उल्लङघन गरि दुई सय बिद्याथी भर्ना गरिएको स्रोतले जनाएको छ ।
प्रशासनसँगको मिलेमत्तोमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राति नै बिद्यार्थी भर्ना गरेको स्रोतको दाबी छ ।
सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी पक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन् ।
अखिल क्रान्तिकारी ‘प्रचण्ड’ का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतले अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले आफ्नो समूह हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको आरोप लगाउनुभयो ।
यता अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले आजै पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरी आगजनीबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय सदस्य श्यामसुन्दर बस्नेतले सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतको समूहले आगजनी गरेको जिकिर गर्नुभयो ।
अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई बदनाम गर्ने उद्देश्यले आगजनी भएको बताउँदै उहाँले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राख्नुभयो ।