बुटवल , फाल्गुन १४ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कसैले बिरोध गर्दैमा अब निर्वाचन नरोकिने भन्दै तयारीमा लाग्न कार्यकर्तालाई सभापति देउवाको निर्देशन छ ।
बुटवलमा वीपी स्मृति भवन उद्घाटन तथा वीपी स्मृति स्मारिका विमोचन गर्दै उहाँले विकास निर्माणका प्रत्यक्ष क्रियाकलाप स्थानीय निकायबाट हुने भएकाले कांग्रेसले अगुवाइ गर्ने वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।
संविधान कार्यान्वयन गर्न र नेपालभित्रका सबै जाति, क्षेत्रका समुदायलाई मिलाउन चुनाव जानै पर्ने भन्दै उहाँले चुनावपछि पुन कांग्रेस ठूलो पार्टी बन्ने दाबी पनि गर्नुभयो ।
सबैलाई नेपाली हो भन्ने अपनत्व जगाउन र मिलाएर लैजान बिनाभय मताधिकार प्रयोग गर्ने अवसर बनाउनुपर्ने देउवाको भनाइ छ ।
कार्यक्रममा कांग्रेस नेता तथा रक्षामन्त्री बालकृष्ण खाडले सबैका माग सम्बोधन गरेर भए पनि समयमा चुनाव हुने बताउनु भयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अतिवादले लोकतन्त्र कमजोर बनाउन लागेकाले अतिवादबाट देशलाई बचाउन पनि समयमै चुनाव हुने धारणा राख्नुभयो ।