काठमाडौं, फागुन १३ ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनले निर्वाचनविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
सरकारले सहमति नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै गठबन्धनले एकलौटीरुपमा घोषणा गरिएको निर्वाचनविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएको हो ।
राजधानीमा आज बसेको गठबन्धनकोे बैठकले संविधान संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा भाग नलिने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
अहिलेकै अवस्थामा निर्वाचनमा जानुको औचित्य नहुने निश्कर्ष निकाल्दै संशोधन प्रस्ताव पारित भएमात्र निर्वाचनमा भाग लिने निर्णय गरेको उहाँले बताउनु भयो ।
बैठकले गठबन्धनका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन कार्यदलसमेत गठन गरेको छ ।
सरकारले आफूहरुका मागहरु सम्बोधन नगरे र संशोधन प्रस्ताव पारित नगरे सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने चेतावनी पनि गठबन्धनले दिएको छ ।