काठमाडौ १३ फागुन ।
आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलको तयारीका लागि नेपाली टोली आज भारत जाँदैछ ।
सात दिनको अभ्यासका लागि १८ खेलाडि सहित २४ सदस्यीय टोली साँझ ५ बजे नेपाल एयरलायन्सको बिमानबाट त्यस तर्फ जाने कार्यक्रम रहेको जनाइएको छ ।
केही दिन अघि मात्र एपेण्डिक्सको शल्यक्रिया गरेका कारण आराम गरिरहेकाले कप्तान पारस खड्का भने भारत नजाने भएका छन् । भारत बसाइँका क्रममा टोलीले अफगानिस्तानको लिष्ट ए टोलीका साथै स्थानिय क्लबसंग अभ्यास खेल खेल्नेछ ।
भारत भ्रमणपछि केन्याबिरुद्धको खेलका लागी अन्तिम टोली घोषणा गरिने प्रशिक्षक जगत टमाटाले जानकारी गराएका छन् । १९ सदस्यीय टोलीमा रहेका केहि नयाँ अनुहारले समेत यसपटक केन्या बिरुद्धको खेलमा स्थान बनाउने सम्भावना छ ।
भारत भ्रमणका क्रममा नेपाली टोलीले नोयडामा आगामी आइतबार, मंगलबार र बिहीबार अभ्यास खेल खेल्नेछ । एक साताको अभ्यासका लागि भारत जाने नेपाली टोली आगामी शुक्रबार नेपाल फर्किनेछ ।
च्याम्पियनसिपको खेल आगामी फागुन २८ र ३० गते किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।