काठमाडौ ९ फागुन ।
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मधेशी मोर्चाको असहमतिका बाबजुद तेस्रो पटक आज साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी बैशाख अन्तिममा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको हो ।
आगामी माघ ७ भित्र तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक जटिलताबीच सरकारले निर्वाचनको मिति घोषणा गर्नुभएको हो । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल तथा मन्त्रीपरिषद सदस्यहरुले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।
सो क्रममा आयोगले आगामी बैशाख ३१ मै निर्वाचन गर्न सुझाव दिएको थियो । बैशाख मसान्त भित्र स्थानीय निर्वाचन सम्पन्न गरेर पूर्व सहमती अनुसार सत्ता हस्तान्तरण गर्नुपर्ने कंग्रेसको दबाबकाबीच प्रधानमन्त्री दाहालले निर्वाचन मिति घोषणा गर्नुभएको हो ।
मार्चाको माग सम्बोधन गर्दै निर्वाचन मार्फत संविधान कार्यान्वयन गर्ने सहमती अनुसार गत साउनमा कंग्रेस माओबादी गठबन्धनको सरकार निर्माण भएको थियो ।
संविधान संशोधन नगरि निर्वाचनको मिति घोषणा गरे आन्दोलनमा जाने मोर्चाले चेतावनी दिइसकेका छन् । आफूहरुको चेतावनीकाबीच सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मोर्चा विरोधमा उत्रिएको छ ।