काठमाडौ ९ फागुन ।
सरकारले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । भोलि बस्ने संसद बैठकमा संशोधन प्रस्तावमाथिको छलफल सुरु हुने जनाइएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणासंगै संशोधन प्रस्ताव पनि अघि बढाउने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संविधान संशोधन विधेयक दर्ता भएपनि दफाबार छलफल अघि बढ्न सकेको छैन । यस्तै बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय समेत गरेको छ ।
बैठकले कार्यदललाई सात दिनको समय दिदैं सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर प्रतिवेदन पेश गर्न भनेको छ ।
पुनरसंरचना आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्न गठित कार्यदलको सुझाव अनुसार सिमांकन हेरफेर गर्ने र स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनु भयो ।
आजै बेलुकी बस्ने मन्त्रीपरिषदको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको । बिहानको बैठकमा त्यसवारे सामान्य छलफल भएपनि आज थप छलफल गरी मिति घोषणा गर्ने मन्त्रीहरुले बताएका छन् ।