काठमाडौ ९ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र मुलुकको आवश्यकता अनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको छ ।
पोखरा विश्वविद्यालयको चौधौँ दीक्षान्त समारोहलाई आज लेखनाथमा सम्बोधन गर्दै उहाँले उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवा जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेशमा पलायन हुन बाध्य भएको बताउनु भयो ।
मुलुकको आवश्यकता अनुरुपको शैक्षिक जनशक्ति तयार गर्न नसक्दा हजारौं युवा विदेश पलायन हुन बाध्य भएको राष्ट्रपति भण्डारीको भनाई छ ।
राष्ट्रपति भण्डारीले विश्वविद्यालयबाट उत्पादित जनशक्तिले अन्तराष्ट्रिय जगतमा नगण्यमात्र योगदान गर्न सक्नु दुखद विषय भएको उल्लेख गर्दै मुलुकमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले वास्तविक आवश्यकतालाई पूरा गर्ने र अन्तर्रा्ष्ट्रिय बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न तर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने संवैधानिक मूल्य मान्यता र आदर्शलाई मूर्तरुप दिन हाम्रो शिक्षा प्रणाली त्यही अनुरुप तर्जुमा गरी कार्यान्यन गर्नु आजको आवश्यकता भएकोमा जोड दिदैं उहाँले नेपालमा पर्याप्त स्रोत साधन रहेको र तिनीहरूको समुचित परिचालनबाट देशले चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले ज्ञान तथा सीप हासिल गरेका युवा जनशक्ति र प्राकृतिक स्रोत साधनको यथोचित र समन्वयात्मक परिचालनले देशको सर्वाङ्गीण विकासको गति बढाउन सकिने बताउनुभयो ।