काठमाडौ ९ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानीमा जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि निर्वाचन हुदैछ । पार्टीको अध्यक्ष चयनका लागि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो ।
राप्रपा अध्यक्षका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिनुभएको छ । सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि मतदान हुन लागेको हो ।
अध्यक्ष पदका उम्मेदवार थापा लामो समयदेखि पार्टी नेतृत्वमा हुनुहन्छ भने अर्का उम्मेदवार राणा काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष हुनुहन्छ ।
पार्टीको विधान अनुसार एक सय ६३ सदस्यीय केन्द्रीय समितिका ३ सय ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
निर्वाचनलाई पारदर्शी तथा छिटोछरितो बनाउनका लागि ६० वटा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । मतपरिणाम आजै साँझसम्ममा सार्वजनिक गर्ने जनाइएको छ ।