काठमाडौ ८ फागुन ।
निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेको सरकारले आज साँधm मधेशी मोर्चासँग छलफल गर्दैछ । साँझ ७ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चाका नेताहरुलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा हुन लागेको छलफलमा स्थानीय तह पुनरसंरचना र निर्वाचनबारे कुराकानी हुने बताइएको छ । बैठकमा मधेसी मोर्चाका तर्फबाट फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाका राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र राय यादवलाई बोलाइएको छ ।
तर, उपेन्द्र यादव आजै नयाँदिल्ली जानु भएकाले वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ यादवको प्रतिनिधित्व गर्दै बालुवाटार बैठकमा सहभागी हुनेछन् । मधेसी मोर्चामा सात दल आवद्ध भएपनि धेरै नेताहरुलाई बोलाउँदा सहमति खोज्न गाह्रो हुने भन्दै प्रमुख नेताहरुलाई मात्र बोलाइएको छ ।
सरकारले भोलि निर्वाचनको मिति घोषणा गर्ने भएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको आज बिहान बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै सरकारले स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीसँग सरकारले छलफल गर्दैछ । संविधान संशोधन प्रस्ताव पारित नभइ निर्वाचनमा नजाने अडानमा रहेको मोर्चा सहमतिमा नआएपनि भोली निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।