काठमाडौ ८ फागुन ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छिट्टै निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन् ।
प्रधानन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस र माओवादीको बैठकले संविधान संशोधन प्रस्ताव पारित अगावै निर्वाचन मिति घोषणा गर्ने सहमति भएको हो ।
बैठकले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष समेत निकालेको छ । बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले छिट्टै निर्वाचन घोषणा गर्न दुवै दल सहमत भएको बताउनु भयो ।
निर्वाचन मिति घोषणा अघि स्थानीय तह पुनरसंरचनाको प्रतिवेदन स्वीकार गर्ने जनाइएको छ । साथै मधेसी मोर्चाको माग सम्बोधनका लागि स्थानीय तहको संख्या फेरबदल गर्ने सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।
लगतै निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।