काठमाडौ ८ फागुन ।
राप्रपाको राजधानीमा जारी महाधिवेशन बन्दसत्रमा आजबाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुदैछ । बिहान ८ बजेबाट सुरु हुने बन्द सत्रमा पार्टी अध्यक्षसहित एक सय ६१ पदका लागि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।
यसअघि पार्टी अध्यक्षमा कमल थापालई नै निरन्तरता दिने सहमति भएको भएपनि पार्टी विधानप्रति असन्तुष्टि जनाउँदै नेता प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा उमेदवारी दिने घोषणा गर्नुभएको हो । राप्रपाको आगामी नेतृत्वका लागि थापा र लोहनीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यद्यपी अध्यक्ष पदका लागि सर्वसम्मति जुटाउनका लागि शीर्ष नेतृत्वबाट प्रयत्न भइरहेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी केन्द्रीय सदस्यमा नायिका रेखा थापा, गायिका कोमल ओली लगायतको पनि उमेदवारी परेको छ ।
यसअघि हिजोको बन्दसत्रले विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गरेको छ ।
राजधानीको भृकुटी मण्डवमा जारी महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन गर्नुका साथै हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनका पक्षमा निर्णय गर्ने जनाइएको छ ।