काठमाडौ ७ फागुन ।
सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने बताउनु भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकले आज खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले सबै पार्टीसित सहमति गरी आगामी बर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताउनुभयो ।
केही विपक्षी दलले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले काँग्रेस त्यस्तो क्रियाकलापको विरुद्धमा उत्रने चेतावनी दिनुभयो ।
भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालनका लागि नेपाली काँग्रेस अग्रसर रहेको र कुनै पनि हालतमा नाका खुलाएरै छोड्ने देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी चुनावमा नेपाली काँग्रेसले पहिलो स्थान हासिल गर्ने देउवाको दाबी छ ।