काठमाडौ ७ फागुन ।
नेकपा माओवादीको ८ औं महाधिवेशन अन्तरगत बन्दसत्रमा आज महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनितिक दस्तावेजमाथि विभिन्न १५ वटा टोली नेताले धारणा राखेका छन् ।
बन्दसत्रको तेस्रो दिन आज भेरी, गण्डक, पश्चिम तामसालिङ, लुम्बिीनी, पूर्व कमाण्डर ब्युरो, धौलागिरी, जनकपूर, उपत्यका, सैन्य, नारायणी, सगरमाथा, राप्ती, जन वर्गीय संगठन, राष्ट्रिय जन स्वयमसेवक, अन्तर्राष्ट्रिय ब्युरो गरी १५ वटा समुहका टोली नेताहरुले दस्तावेज माथि सुझाव राखिसकेका छन् ।
बन्दसत्र भोली बिहान ८ बजे पुनः सुरु हुनेछ । भोलीको बन्दसत्रमा बाँकी रहेका प्रवास र केन्द्रिय कार्यसमिति ब्युरोका नेताहरुले दस्तावेज माथि सुझाव राख्ने हाम्रा संवाददाताले जनाएका छन् । यसअघि हिजो मेची, ताम्सालीङ, कार्णली र कोशी व्युरोसहित चार वटा समुहका टोली नेताहरुलेसुझाव राखेका थिए ।
बन्दसत्रमा पार्टीको आगामी कार्यदिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव विप्लवले प्रस्तुत गर्नुभएको राजनितिक दस्तावेजमाथि छलफल भइरहेको हो । आजको बन्दसत्रमा पार्टीका पोलिट ब्युरो र स्थायी कमिटी सदस्यहरुले पनि सम्बोधन गरेका थिए ।
महासचिवको दस्तावेजमा पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय परिस्थितिको व्यख्या गर्दै नयाँ प्रक्रियाबाट क्रान्ती सफल पार्ने लगायतका विषय समावेश छन् ।
आइतबारसम्म चल्ने महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् । यसअघि महाधिवेशनको उद्घाटनसत्र फागनु १ गते २२ औं जनयुद्ध दिवसको अवसर पारेर राजधानीको खुलामन्चमा भएको थियो ।