काठमाडौ ६ फागुन ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान जारी गर्ने प्रमुख राजनीतिक दलबिचको समझदारीबाट नै निर्वाचनमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।
उहाँले स्थानीय चुनावको मिति समेत घोषणा गर्न नसके वर्तमान सरकारको औचित्य समाप्त हुने बताउनुभयो । रफत सञ्चार क्लव भक्तपूरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माण गर्ने मुख्य राजनीतिक दलहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने बताउनु भएको हो ।
देशलाई निकास दिन र संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको चर्चा गर्दै उहाँले दलहरु बिच समझदारीको वातावरण बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
चुनावमा जान नसके वर्तमान सरकारको औचित्यता समाप्त हुने भन्दै निर्धारित समयभित्र चुनाव गर्न नसके सरकारले नैतिकताका आधारमा पनि राजिनामा दिनुपर्ने भट्टाराईको भनाई छ ।
सबै दल मिलेर निर्वाचनको वातावरण बनाउनु पर्ने र सबै दल निर्वाचनमा भाग लिनु पर्ने उहाँको भनाई थियो । उहाँले मधेसवादी दलले आफ्नो हट त्यागेर चुनावमा भाग लिन आग्रह समेत गर्नुभएको छ ।
संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको बताउँदै उहाँले संविधान संशोधनको विषयमा एमालेको आपत्ति नभएपनि संविधान संशोधन अहिलेको अवस्थामा देशको आवश्यकता नभएको जिकिर गर्नुभयो ।