काठमाडौ ६ फागुन ।
शिक्षामन्त्री धनीराम पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्न नभ्याएका पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी साझा प्रकाशनलाई दिने तयारी भएको बताउनु भएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नयाँ शैक्षिक सत्रका लागि पर्याप्त पाठ्य पुस्तक मुद्रण नभएको सन्दर्भमा साझा प्रकाशन र निजी क्षेत्रलाई जिम्मा दिने बताउनु भयो ।
पाठ्यपुस्तक वितरणका सम्बन्धमा पनि चाँडै नीतिगत निर्णय हुने भन्दै मन्त्री पौडेलले समयमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगोस् भन्नेतर्फ सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।
उहाँले पाठ्यपुस्तकको मूल्य समायोजन र क्षेत्रीयस्तरमा मुद्रणको प्रबन्धबारे गुरुयोजना बनाएर कार्यान्वयन गरिने जानकारी दिनुभयो । आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रका कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षाले करिब ६० प्रतिशत मात्र उत्पादन गरेको छ ।
कक्षा १ देखि ५ सम्मको मुद्रण र वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । महासङ्घका अध्यक्ष हरि अर्यालले आफूहरुले जनक शिक्षासँग विगत वर्षको करिब रु दुई करोड बराबरको ढुवानी खर्च लिन बाँकीरहेको गुनासोसहित मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभयो ।