काठमाडौं, फागुन ६।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन आज देखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । चार दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन मध्यान्ह साढे १२ बजे पछि हुनेछ ।
उद्घाटनअघि उपत्यकाका ५४ ठाउँबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित र्याली निकालिने सो पार्टीले जनाएको छ ।
वडा, गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला तथा प्रवासबाट छनोट भएका तीन हजार तीन सय १५ प्रतिनिधि मध्ये धेरै राजधानी आइसकेका र उद्घाटन हुने बेलासम्म सबै प्रतिनिधि राजधानी आइपुग्ने पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमलाई फेसबुक र युट्युबमार्फत प्रत्यक्ष देखाउने तयारी भैरहेको पनि श्रेष्ठले जानकारी दिनुभयो । गत मंसिर ६ गते तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि महाधिवेशन हुन लागेको हो ।
अध्यक्षमा सर्वसहमति भएकाले अब एक सय ६० केन्द्रीय सदस्यका लागि भोली देखि निर्वाचनको प्रक्रिया सुरु गरी आगामी सोमबार मतदान हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
महाधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले आर्थिक प्रतिवेदन र नेता बुद्धिमान तामाङ्गले विधान संशोधन सम्बन्धि कार्यपत्र पेश गर्नुहुनेछ ।
अध्यक्ष थापाले नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था सहितको प्रजातान्त्रिक देश बनाउने कुरालाई मुख्य सिद्धान्त बनाउने प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको छ ।