काठमाडौ ५ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालेरी जुलियानबीच आज बिहान भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायका विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक र सफलता उन्मूख रहेको भन्दै संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय कानून र मान्यताहरुको अवलम्बन गर्न सरकार तयार रहेको प्रष्ट पार्नुभयो ।
साथै शान्ति सम्झौतादेखि शान्ति प्रक्रियाको पूर्णतामा संयुक्त राष्ट्र संघले खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालको पूनर्निर्माणमा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि धन्यवाद सहित निरन्तर सहयोगका लागि आग्रह समेत गर्नुभएको थियो ।
भेटमा युएन आवासीय प्रतिनिधि जुलियानले नेपालको विकासमा सहयोग गर्ने दातृ संस्थाहरुको मिनी कन्फ्रेन्सका लागि प्रस्ताव गर्नुभएको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।