काठमाडौ ५ फागुन ।
स्थानीय तह पुनःसंरचनाका सम्बन्धमा देखिएको विवाद समाधानका लागि गठित समितिले आज सरकारलाई प्रतिवेदन बुझाउदैछ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे संयोजकत्वको समितिले विषेश गरी दुई नम्बर प्रदेशमा देखिएको विवादका विषयमा परामर्श गरेको थियो ।
पुनरसंरचनाका सम्बन्धमा प्राप्त गुनासो सम्बोधनका क्रममा समितिले दुई नम्बर प्रदेश अन्तरगत विभिन्न जिल्लाका सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा प्राप्त सुझाव समेटिएको प्रतिवेदन आज अपरान्न सरकारलाई बुझाउने समितिको तयारी छ ।
सुझाव संकलनका क्रममा बोल्ने दुई नम्बर प्रदेशका सांसदहरुले स्थानीय तह पुनःसंरचना गर्दा जनसंख्यालाई ध्यान नदिएको तथा पुनरसंरचनाका क्रममा जनतालाई सहभागी नगराएको भन्दै आपत्ति जनाएका थिए ।
मधेशी मोर्चाले स्थानीय तह पुनरसंरचना आयोगको प्रतिवेदन संघियता विरोधी रहेको भन्दै अहिलेको अवस्थामा आयोगको प्रतिवदेन स्वीकार गर्न नसकिने जनाएका छन् । दुई नम्बर प्रदेशमा विवाद कायम भएपछि समितिले तराईको असन्तुष्टी सम्बोधन गर्न पुनरसंरचना हेरफेर गर्नुपर्ने निष्कर्ष निकालेको छ ।