काठमाडौ ४ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मंसिरभित्र संघीय र राष्ट्रिय निर्वाचन गर्नुपर्ने बताउनु भएको छ ।
रामेछापको बेथानमा आज सहिद परिवारको सम्मान कार्यक्रममा बोल्दै उहाँले आगामी मंसिर भित्रमा तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनु भयो ।
नेपाल अहिले पनि संक्रमणमा रहेको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले तीनवटै तहको निर्वाचन नसकि संक्रमणको अन्त नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा यातायात व्यवस्था मन्त्री रमेश लेखकले वर्तमान सरकार निर्वाचन र संविधान कार्यान्वनको दुईवटा एजेण्डा लिएर गठन भएको बताउँदै त्यसलाई पूरा गर्न सरकार लागि रहेको बताउनुभयो ।
उहाँले संविधान प्रति देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न संसदमा पेस भएको संशोधन विधेयक माथि छलफल गरी मतदान गर्ने प्रक्रियालाई कसैले रोक्न नसक्ने बताउनुभयो ।