काठमाडौ ४ फागुन ।
नेकपा एमालेका नेतृ अष्टलक्ष्मी शाक्यले निर्धारित समय भित्रै तीनै तहको निर्वाचन गरी लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन ुपर्नेमा जोड दिनुभएको छ । अहिलेको देशको व्यवस्था प्रणालीलाई स्थायित्व बनाउनका लागि निर्वाचन अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपालको प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले व्यवस्था परिवर्तनसँगै प्राप्त उपलब्धिलाई बलियो बनाउन नसकेको भन्दै मुलुकको व्यवस्थालाई बलियो र समृद्धि बनाउनका लागि निर्वाचन एकमात्र विकल्प भएको धारणा राख्नुभयो ।
एमाले उपाध्यक्ष समेत रहनु भएका शाक्यले व्यवस्था परिवर्तन मात्र भएर मात्र मुलुक अगाडि बढ्न नसक्ने धाराणा राख्दै व्यवस्थासँगै राजनीतिक दलका नेतामा मुलुक बनाउने सोचाइमा परिवर्तन आउनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले निर्वाचन नगर्न सरकारले अनेक बहाना बनाइरहेको भन्दै तीनै तहको एकैपटक निर्वाचन घोषणा गर्न माग गर्नुभयो । कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले निर्वाचनको परिस्थिति भाँड्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ सबै दल सचेत हुनपर्नेमा जोड दिनुभयो ।