काठमाडौं, फागुन ४।
प्रमुख तीन दलका शीर्ष नेताहरुले आवश्यक बातावरण बनाएर तोकिएको समयमै स्ववियु चुनाव गर्नेगरी तयारी गर्न विद्यार्थी संगठनलाई निर्देशन दिएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेतासहित विद्यार्थी संगठनको नेतृत्वबिच भएको छलफलले तोकिएको समयमै स्ववियु चुनाव गर्ने निर्णय गरेको हो ।
कांग्रेस निकट नेविसंघले २८ बर्षे उमेर हदबन्दी खारेजीको माग गर्दै उपत्यकाका अधिकांश क्याम्पसमा तालाबन्दी गरेको छ । आज बिहान भएको प्रमुख तीन दलको बैठकमा क्याम्पसमा लगाएको ताला तत्काल खोल्ने सहमति भएको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिनुभयो ।
सुरक्षा ब्यवस्था तथा क्याम्पसहरुमा जारी आन्दोलनबारे गृहमन्त्री निधिले आजै उपत्यकामा रहेका क्याम्पसका प्रमुख, केन्द्रीय निर्वाचन समितिका पदाधिकारी, आन्दोलनरत संगठनका प्रतिनिधिसँगै छलफलको तयारी भएको बताइएको छ ।
विद्यार्थीहरुको आन्दोलनका कारण निर्वाचन कार्यतालिका समेत प्रभावित हुँदै आएको छ । स्ववियु चुनाव आगामी फागुन १४ गते गर्ने यसअघि नै घोषणा भइसकेको छ ।
केही साना दलका विद्यार्थी संगठन र नेपाल विद्यार्थी संघको एक पक्षले विभिन्न सरकारी क्याम्पसमा तालाबन्दी गरेपछि तीन दलका शीर्ष नेताले विद्यार्थी नेतृत्वसँग छलफल गरेका हुन् ।