काठमाडौ ३ फागुन ।
सरकारले राष्ट्रिय जनसंख्या परिषदमा सातजना विज्ञ सदस्यलाई नियुक्ति गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको परिषद्को बैठकले जनसंख्या सम्बन्धी तथ्यांकलाई व्यवस्थित गर्न विज्ञलाई नियुक्त गरिएको हो ।
बैठकले जनसंख्यासम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचना अनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णय समेत गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
विज्ञ सदस्यमा योगेन्द्रबहादुर गुरुङ, डा रामशरण पाठक, रोशना कार्की, डा गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र पुनमलाल कर्ण रहेका छन् । बैठकमा प्रधानमन्त्री दाहालले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताउनुभयो ।
जनसंख्याको नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थित जीवनपद्दति कायम गर्न सकिने उहाँले बताउनु भयो । सङ्घीय संरचनाअनुसार जनसङ्ख्याको अभिलेखन र विद्युतीय अभिलेखीकरण मार्फत यसमा आधुनिक अभिलेखको व्यवस्था गरिने प्रधानमन्त्रीको भनाई छ ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीको उपस्थिति थियो ।