काठमाडौ २ फागुन ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले पुनःनिर्माण कोष परिचालनको खाका निर्माण गर्न मुख्यसचिवको संयोजकत्वमा समिति गठन गरेको छ ।
स्रिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले समितिलाई परिचालनको खाका ल्याउन एक साताको समय दिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिनुभयो ।
प्राधिकरणमा परेका गुनासाको फछ्र्योटका लागि जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने निर्णय भएको जानकारी गराउदै उहाँले टुङ्गो नलागेका गुनासा प्राधिकरण केन्द्रले हेर्ने र केन्द्रले गरेको निर्णय चित्त नबुझेमा पुनरावेदन समितिमा उजुरी गर्न सकिन्ने व्यवस्था गरेको बताउनु भयो ।
बैठकले एकीकृत बस्तीको खाका बनाउने निर्णय समेत गरेको छ । जोखिममा रहेका बस्ती स्थानान्तरणको खाका पनि तयार पारिने उहाँले बताउनुभयो । पुरातात्विक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदा ठेक्कामा निर्माण गर्दा प्राचीन मौलिकता हराउन सक्ने गुनासो स्थानीयवासीबाट आएकाले ठेक्का नगर्ने निर्णय बैठकले गरेको छ ।
इँटालगायत निर्माण सामग्री ल्याउन ठेक्का गर्न सकिने भएकाले मिश्रित कार्य्विधि बनाएर सम्पदा पुनःनिर्माणको काम गरिने छ भने विशेषज्ञको राय सुझावसहित कार्यविधि मन्त्रिपरिषदमा लगिनेछ ।
पुनःनिर्माणका लागि कर्मचारीको अभाव भएको र स्थायी कर्मचारी ल्याउन अप्ठ्यारो भएकाले पुनःनिर्माण आयोजनाका लागि आवश्यक कर्मचारी करारमा लिन सकिने निर्णय बैठकले गरेको छ ।