काठमाडौ १ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताउनु भएको छ । २२ औं जनयुद्ध दिवसका अवसरमा पेरिस डाडाँस्थित नेकपा माओवादी केन्द्रीय कार्यालयमा आज भएको कार्यक्रममा बोल्दै उहाँले जरुरी परे अर्को बलिदानी दिन तयार रहेको बताउनु भयो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका दाहालले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न अर्को वर्षको माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसो हुन नसके मुलुकमा सङ्कट आइपर्ने प्रधानमन्त्री दाहालको भनाई छ । संविधान परिमार्जन गर्न सकिने गतिशील दस्तावेज भएकाले सबैको हकअधिकार रक्षाका लागि त्यसलाई परिमार्जन गर्न सरकारले तयारी गरेको उहाँले उल्लेख गर्नुभयो ।
माओवादीले थालेको युद्ध नै राष्ट्रलाई एकतावद्ध बनाउने ऐतिहासिक कदम भएको भन्दै उहाँले माओवादीले नै मधेस, पहाड र हिमाललाई मिलाउन सक्ने स्थितिमा रहेको धारणा राख्नुभयो ।
उहाँले संसदमा तेस्रो पार्टी भएपनि परिर्वतनको रक्षा गर्ने, राष्ट्रलाई एकतावद्ध गर्ने र राष्ट्रिय स्वाधीनतालाई रक्षा गर्ने सन्दर्भमा अहिले पनि आफ्नो दल पहिलो नम्बरमै भएको जिकिर गर्नुभयो ।
माओवादी क्रान्ति सफल हुँदै गएपनि पार्टी टुक्रिँदै जाँदा पार्टी कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले अर्को जनयुद्व दिवससम्म आइपुग्दासम्म सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट एक हुने विश्वास व्यक्त गर्नुभयो ।