काठमाडौ २८ माघ ।
नेपाली काँग्रेस पर्सा जिल्ला शाखाको सभापति चयनका लागि भएको निर्वाचनमा कुनै उमेदवारले बहुमत ल्याउन नसकेपछि आज पुनः मतदान हुने भएको छ ।
कुनै उम्मेदवारले खसेको मतबाट ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि तुलनात्मक रुपमा पहिलो र दोस्रो हुनेबीच पुनःनिर्वाचन हुने भएको हो । सभापतिका लागि आज उम्मेदवार प्रथम हुने अजयकुमार द्विवेदी र दोस्रो हुने जनार्दनसिंह क्षेत्रीबीच पुनः प्रतिस्पर्धा हुने जनाइएको छ ।
वीरगन्जको आदर्शनगरस्थित बालकल्याण समितिमा सम्पन्न भएको पाँच क्षेत्रको मतगणनाबाट पार्टीको विधानानुसार कोही उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी हासिल गर्न नसकेपछि पुनः निर्वाचन गरिने तयारी भएको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिनुभयो ।
सभापतिका उम्मेदवार द्विवेदीले चार सय ३२, क्षत्रीले दुई सय ४७, वशिष्ठनारायण कुर्मीले दुई सय ३७ र शान्ति कार्कीले छ मत हासिल गरेका थिए । नौ सय २५ मध्ये तीन मत बदर भएको थियो ।