काठमान्डौ,माघ २७।
एफए कप फुटबलको गएराति भएको खेलबाट लेस्टर सिटी प्रतियोगिताको पाँचौं चरणमा प्रवेश गरेको छ । लेस्टर सिटीले चौथौ चरणको रिप्लेमा डर्बी काउन्टीलाई ३ – १ गोल अन्तरले हराएर पाँचौं चरणमा स्थान बनाएको हो ।
लेस्टरको मैदानमा भएको खेलमा निर्धारित समयको खेल १–१ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलमा दोस्रो हाफको सुरुमा नै एण्डी किङले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । ६१ औं मिनेटमा डर्बीका लागि अब्डोउल कामाराले बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएका हो ।
थप गरिएको समयको चौथो मिनेटमा विल्फ्रेड एनडिडीले गोल गर्दै लेस्टर सिटीलाई २–१ को अग्रता दिलाए । एक सय १४ औं मिनेटमा डिमेराई ग्रेले एकल प्रयासमा सुन्दर गोल गर्दै लेस्टर सिटीलाई ३–१ को जित दिलाएका हुन् ।
इंग्लिस प्रिमियर लिगका रेलिगेशन जोनबाट माथि रहन संघर्षरत लेस्टरले सन् २०१७ मा घरेलु मैदानमा दर्ता गरेको यो पहिलो जित हो ।