काठमाण्डौ, माघ २६ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार चुनाव गराउनकै लागि गठन भएकाले निर्वाचन हुँदैन कि भन्ने शंका नगर्न आग्रह गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको पहिलो स्मृति दिवसमा पार्टी मुख्यालय आज सानेपामा आयोजित कार्यक्रममा उहाँले ताकिएकै मितीसम्म तीनै तहको निर्वाचन सम्पन्न हुने दाबी गर्नुभयो ।
देउवाले निर्वाचन सम्पन्न गर्न कांग्रेसले अग्रसरता लिने बताउनुभयो । निर्वाचन नचाहने केही तत्वले निर्वाचन हुँदैन भन्ने भ्रम सृजना गरेको भन्दै त्यसको पछि नलागी चुनावको वातावरण बनाउन सबैसंग आग्रह गर्नुभयो ।
यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस मधेश हैन देश अभियान लिएर जनतामाझ जाने बताउनुभयो । निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेकाले लचकता देखाउन एमाले र मधेसवादी दललाई उहाँको आग्रह थियो ।
त्यस्तै कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिहं, कृष्णप्रसाद सिटौलालगायतले संविधान कार्यान्वयनका लागि निर्वाचनको आवश्यकता रहेकाले जसरी पनि निर्वाचन गर्नु पर्ने धारणा राख्नुभएको थियो।