काठमाडौ २५ माघ ।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलहरुलाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताउनु भएको छ । थ्रेसहोल्ड नराख्दा अस्थिर सरकार बन्छ भन्नु गलत भएको भन्दै उहाँले स्थिर सरकार बनाउन साना दललाई सरकारमा जान नपाउने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वपः उमाविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा कलेजको २६ औँ वार्षिकोत्सवको अवसरमा ख्वपः उच्च माध्यामिक विद्यालयमा आजबाट सुरु भएको बृहत शैक्षिक एवम् विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
नेपाली काँग्रेस, एमाले र माओवादी जस्ता ठूला पार्टीले नै सरकार निर्माण गर्ने क्रममा साना पार्टीलाई सरकारमा समावेश गर्ने परीपाटीले सरकार अस्थिर बनेको भन्दै बिजुक्छेले यसको जिम्मेवारी पनि तीनै दलले लिनुपर्ने टिप्पणी गर्नुभयो ।
ठूला दलले आफ्नो स्वार्थ पुरा गर्न साना दललाई सरकारमा लैजाने, अनि थ्रेसहोल्ड नराख्दा अस्थिरता आउँछ भन्नु गलत भएको उहाँको धारणा छ । कार्यक्रममा उहाँले ख्वपः विश्वविद्यालयको स्वीकृतिको काम अब अगाडि बढ्ने बताउँदै उहाँले सम्बन्धन नपाए भक्तपुरका जनता आन्दोलनमा होमिन तयार भएको बताउनुभयो ।