काठमाण्डौ, माघ २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको कामलाई तिब्रताका साथ अघि बढाउन निर्वाचन आयोगलाई निर्देशन पनि दिनुभएको छ । संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न दाहालको आग्रह छ ।
निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीबारे छलफल गर्न आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा जाने तयारी सरकारले गरेकाले निर्वाचन नै नहुने भन्ने शंका नगर्न आग्रह गर्नुभयो ।
दाहालले निर्वाचनबाटै संविधान कार्यान्वयन हुने भएकाले सरकार त्यसमा प्रतिबद्ध रहेको बताउनुभयो । २१औं शताब्दीमा गरिने निर्वाचनलाई व्यवस्थित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै विद्युतीय भोटिङबाटै मतदान गराउन सरकार तयार रहेको प्रंधानमन्त्री दाहालको भनाई छ ।
कार्यक्रममा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका नेता सहभागी भएका थिए । कार्यक्रममा निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनबारे जानकारी दिएको थियो ।
आयोगले विद्युतीय भोटिङ मेसिनबाट मतदान गराउँदा हुने सहजताबारे राजनीतिक दलका नेताहरुलाई जानकारी गराएको हो ।