काठमान्डौ माघ २४।
झापाको विर्तामोडमा जारी दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज मनाङ मस्र्याङदी क्लबले आयोजक झापा ११ को सामना गर्दै छ ।
प्रतियोगितामा उपाधि आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोलीबीचको खेल डोमालाल राजवंशी रंगशालामा अपरान्न पौने तीन बजेपछि हुनेछ ।
मनाङले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै उपाधि दाबेदार बनेको हो भने आयोजक झापा ११ ले हिमालयन शेर्पा क्लबलाई हराउदै मनाङसँगको भेट पक्का गरेको हो ।
यद्यपी दुवै टोली उपाधि आफूले जित्नेमा विश्वासमा रहेका छन् । गत वर्ष भएको पहिलो संस्करणको उपाधि भने झापालाई हराउदै त्रिभुवन आर्मी क्लबले जितेको थियो ।
मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।