सप्तरी, २२ माघ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधनविना निर्वाचन गर्न खोजिए मुलुकमा द्वन्द्व बढ्नसक्ने चेतावनी दिनुभएको छ ।
फोरम लोकतान्त्रिक नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले परिमार्जनसहितको संविधान संशोधन भए मात्र देशले निकास पाउने बताउनु भयो ।
अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन सम्भव नभएको भन्दै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेसी मोर्चालाईसमेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने बताउनुभयो ।
उहाँले पूर्व मेचीदेखी पश्चिम महाकालीका जनताहरु अधिकारका लागि आन्दोलनरत रहेकोले संविधान कार्यान्यनका लागि संविधान संशोधन पहिलो सर्त रहेको दोहोर्याउनु भयो ।
गच्छदारले तीन ठूला दलबीच देखिएको असमझदारीका कारण मुलुक क्रमिक रुपमा द्वन्द्वमा फस्दै जानुका साथै यसबाट आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत असर परेको धारणा व्यक्त गर्नुभयो ।