दलाइ लामा जाने भएपछि नेपाली सांसदको भारत भ्रमण रद्द

दलाइ लामा जाने भएपछि नेपाली सांसदको भारत भ्रमण रद्द

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, माघ २२ । भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा पनि उपस्थित हुने जानकारी पाएपछि सभामुख ओनसरी घर्तीमगरले भ्रमण रोक्न निर्देशन गरेकी छन् ।

कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो । सभामुख घर्तीमगरले आफू उपस्थित हुन नसक्ने भन्दै विभिन्न दलका १५ जना सांसदलाई उक्त कार्यक्रममा पठाउने तयारी गरेकी थिइन् ।

तर भारतस्थित नेपाली राजदूत र आयोजकसँग बुझ्दा उक्त कार्यक्रममा दलाइ लामा र उनका प्रतिनिधि उपस्थित हुने जानकारी पाएपछि सभामुख घर्तीमगरले सांसदहरूलाई पनि नपठाउने निर्णय गरेको संसद् सचिवालय स्रोतले बतायो ।

कर्नाटक विधानसभाद्वारा आमन्त्रण गरिएको उक्त कार्यक्रममा सांसदहरूको सहभागिताका लागि कांग्रेसका स्वर्गीय नेता सुशील कोइरालाका नाममा स्थापित ‘सुशील कोइराला फाउन्डेसन’ का सचिव अतुल कोइरालाले संसद् सचिवालय र सभामुख घर्तीमगरको निजी सचिवालयसँग संयोजन गरेका थिए ।

तर सम्मेलनमा दलाइ लामा उपस्थित हुनेबारे कोइरालाले केही पनि उल्लेख नगरेपछि सभामुख घर्तीमगरले कांग्रेस, एमाले, माओवादी केन्द्र र अन्य दलका प्रमुख सचेतकसँग छलफल गरी त्यहाँ पठाउने १५ जना सांसदको नाम तय गर्न लगाएकी थिइन् ।

जसअनुसार कांग्रेस र एमालेका तर्फबाट ४÷४ जना, माओवादी केन्द्रका ३ जना, राप्रपाबाट एकजना र अन्य साना दललाई पनि समेटेर १५ जना सांसदको नाम तय गरिएको थियो ।

सम्मेलनमा दलाइ लामा उपस्थित हुने जानकारी पाएपछि सम्मेलनमा पठाउन लागिएका कांग्रेसकी उषा गुरुङ, एमालेकी सुशीला नेपाल, माओवादी केन्द्रकी रूपा महर्जन, राप्रपाकी कान्ता भट्टराई, संघीय समाजवादी फोरमकी छायाँ पन्तलगायत सांसदलाई भ्रमण स्थगित भएको जानकारी संसद् सचिवालयले गराएको स्रोतले बतायो । फेब्रुअरी ८ तारिखदेखि उक्त सम्मेलन सुरु हुँदैछ ।

नेपाल एक चीन नीतिका पक्षमा रहेकाले दलाइ लामा उपस्थित हुने कार्यक्रममा सहभागिता जनाउँदा छिमेकी मुलुक चीनले आपत्ति जनाउन सक्ने भन्दै सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरिएको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।

‘सम्मेलनमा सांसदहरू जाने तयारी भैसकेको थियो । तर विभिन्न स्रोतबाट बुझ्दा त्यो सम्मेलनबारे विवाद उत्पन्न हुनसक्ने सम्भावना रहेकाले सांसदहरूलाई भ्रमणमा नपठाउने निर्णय गरिएको हो’, सभामुख घर्तीमगरका प्रेस सल्लाहकार बबिन शर्माले अन्नपूर्णसँग भने ।–अन्नपूर्ण पोष्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ