काठमाडौ २१ माघ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारी गर्ने बाटो खुलेपनि स्थानीय तह पुनरसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुःखद भएको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले मन्त्रिपरिषदको निर्णयले निर्वाचनका लागि बाटो खुलेकाले अब आयोग निर्वाचनको तयारीमा जुटेको बताउनु भयो ।
यद्यपी सरकारले पठाएको पत्र हेरेपछि मात्रै थप कुरा भन्न सकिने यादवले बताउनु भयो । आयोग जेठभरमा निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै उहाँले निर्वाचन सम्बन्धी बाँकी काम तत्काल सक्काउन सरकारलाई आग्रह समेत गर्नुभएको छ ।
स्थानीय तह पुनरसंरचना आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उहाँले आयोगको प्रतिवेदन पाएपछि काम गर्न थप सजिलो धारणा राख्नुभयो ।
प्रतिवेदन नपाएसम्म मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउन नसकिने यादवको भनाई छ ।