काठमाडौ २१ माघ ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लो समय मुलुकमा पार्टीगत पत्रकारिता मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्यतथ्यमा भन्दा आरोप–प्रत्यारोप गालीगलौज तथा व्यक्तिको चरित्र हत्या गर्नेतर्फ उन्मुख पत्रकारिताले समाजमा रचनात्मक प्रभाव नदेखिने उल्लेख गर्नुभयो ।
पछिल्लो समय लोकतन्त्र, जनता, जनजीविका, भाषा, साहित्य, लोपोन्मुख जातजाति तथा पिछडिएका समुदायको अधिकारलाई गौण राखी पार्टीगत पत्रकारिता अगाडि देखिएको मन्त्री कार्कीको भनाई छ ।
सञ्चारमन्त्री कार्कीले वर्तमान सरकार स्वतन्त्र प्रेस, मानव अधिकारको रक्षा र जनतालाई सुशासन प्रदान गर्न कहीँ कतै नचुकेको औँल्याउनुभयो ।
उहाँले लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, नेपाल पत्रकार महासङ्घको आठ जिल्ला शाखा निर्माणमा प्रतिशाखा रु पाँच लाख वितरण, पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।