काठमाडौ ,२१ माघ ।
सरकारले अनावश्यक रुपमा माओवादी पार्टीमाथि निगरानी बढाउने तयारी थालेको भन्दै नेत्रविक्रमचन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज राजधानीमा विरोध प्रर्शन गरेको छ ।
शान्तिपूर्ण कार्यक्रममा समेत प्रतिबन्ध लगाउने गरी सरकारले अनावश्यक हस्ताक्षेप गर्न खोजेको भन्दै त्यसको विरोधमा राजधानीको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको हो ।
नेपाल प्रहरीले माओवादी कार्यकर्ताको गतिविधिमाथि निगरानी राख्न यसअघि नै देशभर सर्कुलर जारी गरिसकेको अवस्थामा हिजो सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकमा समेत माओवादी गतिविधिमाथि निगरानी बढाउने बारेमा छलफल भएको जनाइएको छ ।
राजधानीको शान्तिबाटिकाबाट सुरु हुने विरोध प्रदर्शन पुरानो बसपार्क, भद्रकाली, शहिदगेट, सुन्धारा, न्युरोड हुदै पुनः शान्तिबाटिकामा नै पुगेर सभामा परिणत भएको थियो । सभालाई नेकपा माओवादीका स्थाई समिति सदस्य सन्तोष बुढाले संबोधन गर्दै देश टुक्राउन खोज्ने तत्वलाई खुलेआम छोडेर राष्ट्रियताको पक्षमा रहेकाहरुलाई धरपकट गर्ने निगरानिमा राख्ने जस्ता क्रियाकलाप तत्काल नसच्याए माओवादी कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
यसअघि आज बिहान माओवादीले विज्ञप्ती निकालेर हिजाकोे मन्त्रिपरिषद्मा गृहमन्त्रीले विप्लव माओवादीबाट राज्यलाई चुनौंती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टि महासचिव विप्लवद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भ्रष्टाचार, तस्करी, महङ्गी, कालोबजारी, अराजकता विरुद्ध पार्टीले गरिरहेको संघर्ष तुहाउन र यही फाल्गुन १ गतेदेखि १० गतेसम्म हुन लागेको आठौं महाधिवेशनलाई बाधा पुर्याउने र जनताको आकर्षणलाई भाड्ने खेल भएको भन्दै बिरोध गरिएको छ ।

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला हाम्रो पार्टीको विरुद्धमा एकदमै भ्रामक प्रचार गर्नु र निगरानिमा राख्ने कार्य प्रस्ताव गर्नु गलत भएकोले राज्यको यस्तो दमनकारी नीतिबाट हाम्रो पार्टी विचलित नभई अझ शसक्त प्रतिरोधको मार्गमा अगाडि बढ्ने विज्ञप्तीमार्फत महासचिव विप्लवबले चेतावनी दिनुभएको छ ।
साथै माओवादीले राज्यको दमनकारी र भ्रामक कार्यको देशव्यापी रुपमा भण्डाफोर र प्रतिरोध गर्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल समेत गरेको छ ।