काठमान्डौ माघ २१।
झापाको विर्तामोडमा जारी दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु हुदै छ ।
आज हुने पहिलो सेमिफाइनल खेलमा आयोजक झापा ११ ले हिमालयन शेर्पा क्लबको सामना गर्दै छ । प्रतियोगितामा जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल डोमालाल राजवंशी रंगशालामा दिउसो हुनेछ ।
यस अघि हिजो भएको अन्तिम क्वाटरफाइनलको खेलमा मनाङ मस्र्याङदी सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले न्युरोड टिम एनआरटी क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
मनाङका लागि निराजन मल्लले २, ओलावाले र सुशील लामाले एक एक गोल गरेका हुन् । अव मनाङले भोली विभागीय टोली नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्ने छ ।
मोफसलकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता आगामी माघ २४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।