झापा ,१९ माघ ।
बनियानी ९झापा०– बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी रमपम झापा गोल्डकपमा सुदूरपश्चिम–११ लाई फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजक झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । झापा–११ का विदेशी मार्टिनले तीन र बुद्ध चेम्जोङले एक गोल गरेका थिए ।
खेलको ‘म्यान अफ द म्याच’ झापा–११ का मार्टिन घोषित भए । शुक्रबारको खेल मनाङ–मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच हुने आयोजक समितिका उपाध्यक्ष बलराम कार्कीले जानकारी दिनुभयो ।
दश टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेताले रू सात लाख र ट्रफी तथा उपविजेताले रू तीन लाख ५० हजारसहित ट्रफी पाउनेछन् ।
यसैबीच ,नेपालगन्ज–अन्तराल कप अन्तर बैंक फाइभ ‘ए’ साइड फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा एनआइसी एसियाले नबिल बैंकलाई १ (३ गोलले पराजित गरेको छ ।
दोस्रो खेलमा नेपाल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गरे ।
यसअघि लिग चरणको खेलमा समूह ‘ए’ बाट चार अङ्कसहित कुमारी बैंक र समूह ‘बी’ बाट तीन अङ्कसहित सिद्धार्थ बैंकले सेमिफाइनलको यात्रा गरिसकेका छन् ।