काठमाडौँ, १९ माघ । आठौँ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुनसरी र मोरङ जिल्लाले जित हासिल गरेका छन् ।
पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा सुनसरीले कास्कीलाई ६ विकेट तथा मोरङले बाँकेलाई ४८ रनले पराजित गरेका हुन् ।
टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको सुनसरीले कास्कीले दिएको ७९ रनको चुनौतीलाई १०.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।
सुनसरीको जितमा केशव न्यौपानेले ३१ तथा रुपेश चौधरीले १७ जोडे । कास्कीलाई कमैमा समेट्ने क्रममा सुनसरीका ज्ञान सुवेदी एक्लैले तीन विकेट लिए । न्यौपाने र विवेकचन्द्र राईले दुई–दुई विकेट लिए भने निरज श्रेष्ठले एक विकेट हात पारे ।
त्यसैगरी टस जितेर पहिले ब्याटिङ गरेको मोरङले २० ओभरमा पाँच विकेट गुमाउँदै १८६ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको बाँके १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो । बहिरा क्रिकेट सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा छ टोलीको सहभागिता छ । प्रतियोगिता यही माघ २२ गतेसम्म चल्नेछ ।