काठमान्डौ माघ १९ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले संविधान तथा कानुनविद्सग परामर्श गरिरहनु भएको छ । निर्वाचन सम्बन्धी विधेयकहरु संसदबाट पारित भईरहेको अवस्थामा प्रधानमन्त्री दाहालले संविधान तथा कानुनविदसग निर्वाचनका सम्बन्धमा सुझाव लिन लाग्नु भएको हो ।
राजधानीको बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी छलफलमा संसदमा प्रस्तुत हुन बाकी ४ वटा विधेयकको मस्यौदा माथि छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारले चुनाव घोषणाको तयारी गरिहरेको बेला यस सन्दर्भमा स्थानीय निकाय पुनसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई कसरी आत्मसात गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री दाहालले संविधानविदहरुसग राय माग्न लाग्नु भएको हो ।
संविधान र कानुनबारे जानकारी राख्ने २० जना संविधान तथा कानुनविदलाई बोलाएर प्रधानमन्त्री दाहालले निकास र सहमतिका लागि सुझाव माग गर्न लाग्नु भएको हो ।
सरकारले संसदमा निर्वाचन सम्बन्धी ५ वटा विधेयक पेस गरेपनि तीन तहको निर्वाचनका लागि आवश्यक पर्ने थप चार वटा विधेयकको मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन ।
यस्तै छलफलमा संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अन्य ऐनकानुनका बारेमा समेत परामर्श हुने प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिनुभयो ।