काठमाडौँ, १८ माघ । कतार , मलेशिया , साउदी , दुवई लगायतका खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्था समेत छ भन्दै नक्कली माग पत्र देखाएर युवाहरुलाई ठगी गर्ने मोहम्मद अजमत अली शाह पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भनिने साहलाई पक्राउ गरेको हो ।
उनले विभिन्न कम्पनीको नक्कली मागपत्र देखाई रोजगारीमा पठाइदिन्छु भन्दै प्रत्येक पीडितसँग राहदानी लिई प्रतिव्यक्ति एक लाख १० हजारदेखि दुई लाख सम्मको रकम उठाई ठगेको ब्यूरोले जनाएको छ ।
कुनै आधिकारिक वैदेशिक रोजगार व्यवसायी तथा प्रतिनिधिसमेत नरहेका साहविरुद्ध हालसम्म ८७ जना पीडितले ब्युरोमा जाहेरी दर्खास्त दिइसकेका छन् । साहको डेरा कोठाबाट तीन थान भारतीय राहदानी र १७७ थान नेपाली नागरिकको राहदानी समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पछिल्लो आठ÷नौ महिनामाको अवधिमै पीडितहरूकै नामबाट सिम कार्ड निकाली १५ वटाभन्दा बढी मोबाइलको सिम प्रयोग गरेको समेत पाईएको छ । उनलाई अहिले ब्यूरोको हिरासतमा राखिएको छ ।