काठमाडौ १८ माघ ।
भारतको नयाँदिल्लीमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी–२० क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । आज भएको खेलमा नेपाललाई अस्ट्रेलियाले १० विकेटले हराएको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रन बनायो । नेपालका लागि सुनील सुवेदी क्षत्रीले अविजित ३४ रन जोडे भने कृतन श्रेष्ठ दुवालले अविजित २९ रन जोडे ।
एक सय ४४ रनको लक्ष्य पछ्याउदै जवाफी ब्यटिङमा उत्रिएको अस्ट्रेलियाले १३ औं ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जितसँगै अस्ट्रेलियाले समूहमा अंकको खाता खोलेको छ ।
दृष्टिविहीन विश्वकप टी–२० क्रिकेटको यो दोस्रो संस्करण हो । प्रतियोगितामा नेपाल र अष्ट्रेलिया बाहेक भारत, पाकिस्तान, श्रीलंका, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र बंगलादेश सहभागी छन् ।
सबै ९ टोलीले ‘राउन्ड रोबिन लिग’को आधारमा एक–अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा भोली दक्षिण अफ्रिकाको सामना गर्नेछ ।