काठमाडौ १८ माघ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा रिक्त रहेका राजदूत तत्काल नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समिति कार्यालयमा आज बसेको बैठकले विभिन्न मुलुकमा राजदुत नियुक्त हुन नसक्दा कुटनितिक सम्बन्ध समेत प्रभावित भएको भन्दै तत्काल नियुक्त गर्न निर्देशन दिएको हो ।
लामो समयदेखि राजदूत रिक्त हुँदा सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक भूमिका कमजोर भएकाले तुरुन्त नियुक्ति गर्न निर्देशन दिने बैठकले निर्णय भएको समितिका सभापति प्रभु साहले जानकारी दिनुभयो ।
बैठकमा समितिका सदस्यहरुले सरकारले राजदूत नियुक्त गर्न ढिलाई गरेका कारण अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिग्रिदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले रिक्त रहेका मुलुकमा राजदूत नियुक्तिको गृहकार्य भइरहेकाले अब छिट्टै राजदूत नियुक्त गर्ने जानकारी गराउनु भयो ।
हाल १४ मुलुकमा राजदूत रिक्त छन् । अघिल्लो सरकारले सिफारिस गरेका राजदूतको सुनुवाइ नहुँदै वर्तमान सरकारले फिर्ता लिएको थियो भने त्यसपछि छिमेकी भारत र चीनमा मात्र नयाँ राजदूत भएका छन् ।
बैठकले अवैतनिक महावाणिज्यदूतलाई स्पष्ट मापदण्डका आधारमा नियुक्ति, मूल्याङ्कन र कार्य प्रगति हासिल हुने गरी काम लगाउन पनि निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले हाल विभिन्न मुलुक र स्थानमा गरी ६४ अवैतनिक महावाणिज्यदूत रहेकामा केहीको कार्यावधि सकिएको र केहीका म्याद थपको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।