काठमाडौं, माघ १७ ।
संविधान संशोधन लगायतका विषयमा सहमति कायम गर्न बसेको सत्तारुढ दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीचको बैठक निष्कर्ष विहीन भएको छ ।
संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन घोषणा लगायतका विषयमा छलफल गरी सहमति कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान बालुवाटारमा बैठक बोलाउनु भएको थियो ।
बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन घोषणा सँगसँगै गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्ष्विहीन भएको हो ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म स्थानीय निर्वाचन घोषणा गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका थिए ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पनि सच्याउन माग गरेका छन् । पुनर्संरचना आयोगले दिएको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने उनीहरुको भनाइ थियो ।