काठमाडौ १७ माघ ।
प्रमुख सत्तासझेदार दल कांग्रेस माओवादी र मधेशी मोर्चाको संयुक्त बैठक आज बस्दैछ । संसदमा पेश भएको संविधान संशोधन प्रक्रिया तथा स्थानीय निकाय निर्वाचनका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनु भएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ९ बजेपछि बस्ने बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन, स्थानीय निकायको निर्वाचन लगायत विषयमा कांग्रेस तथा मोर्चाका नेताहरुसँग परामर्श गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।
संविधान संशोधन प्रस्ताव पारित नभइ सरकार निर्वाचन मिति घोषणा गर्ने तयारीमा जुटेको भन्दै मोर्चाले असन्तुष्टी जनाएपछि प्रधानमन्त्री दाहालले छलफलका लागि बोउनु भएको मोर्चा आवद्ध दल राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।
संसदमा पेश गरेको संशोधन प्रस्ताव पारित भएपछि मात्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने मोर्चाको अडान छ । आजको बैठकमा पनि संशोधनको टुङ्गो नलागेसम्म कुनै निर्वाचनको अर्थ नहुने भन्दै पहिले संशोधन प्रस्ताव पारित गराउन सरकारलाई दवाव दिने मोर्चाको तयारी छ ।