विराटनगर, १५ माघ ।
सभामुख ओनसरी घर्तीले आगामि सोमवारसम्ममा निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट पारित हुने दाबी गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख घर्तीले संविधान कार्यान्वयनका सन्दर्भमा हुने निर्वाचनको विषयमा दलहरुबीच कुनै मतभिन्नता नरहेको बताउनुभयो ।
संविधानमा आफ्नो समुदायको हक अधिकार स्थापित गर्ने विषयबाहेक निर्वाचनको सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मत भिन्नता रहेको सभामुख घर्तीको भनाई छ ।
सबै राजनीतिक दलको सर्वसम्मतिमा निर्वाचनसम्बन्धी विधेयक लगातार पास हुनथालेको भन्दै उहाँले राष्ट्र र जनताको हितका लागि आआफ्नो अडानमा लचिलो हुने काम सबै राजनीतिक दलबाट हुनुपर्नेमा जोड दिनुभयो ।
विमानस्थलमा सभामुख घर्तीलाई अन्तर पार्टी महिला सञ्जालका तर्फबाट स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदमा महिला आरक्षणको व्यवस्थाको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको थियो ।